काठमाण्डौं।  नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूको  संगठन ‘पूर्व प्रहरी संगठन प्रमुख मञ्च’ले सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले ‘प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनलाई कारबाही गर्न प्रधनामन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री गुरूङलाई तत्काल उक्त वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन भनेका छन् ।

‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारवाही गर्नु हुन पनि अनुरोध गर्दछौ’ विज्ञप्तिमा छ,’नेपाल प्रहरी संगठन प्रमुख तथा सकल सुरक्षाकर्मीहरुलाई यस्ता प्रसंगमा अविचलित रही राष्ट्र र आम नागरिकको सेवामा अविछिन्न लागि रहन यस मञ्च ऐक्यबद्धतासहित अपील गर्दछ।’

नेपालको संविधानले आम नागरिकको अभिव्यक्तिको स्वतन्त्रतालाई सुनिश्चित गरे पनि अभिव्यक्तिको स्वतन्त्रता भनेको निम्छरो भाषिक अराजकता नभएको उनीहरूले उल्लेख गरेको छ ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिले पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले यस्तो विवादास्पद अभिव्यक्ति दिएका हुन् । कर्मचारी तथा प्रहरी समायोजनमा ढिलाई भइरहेको विषयमा बोल्दै यसरी उनले अमर्यादित भाषा प्रयोग गरेका हुन् ।

‘निजामती र संघीय प्रहरी ऐन आउने, फर्किने धेरैपटक भइरहेको छ। तर, अब लन्च गर्ने तयारी छ । त्यसको धेरै अवरोध गर्ने त्यही सेक्टरको मान्छेबाट भइरहेको छ। प्रहरीको आईजीपीले के भन्यो, म यो कानुन लागू नै गर्दिनँ, हुँ गर्छ। त्यस्तो बोल्न पाउने कि नपाउनेरु त्यस्को जिब्रो थुत्नुपर्थ्यो मैले भन्दाखेरी,’ उनले भने,‘सरकारको नीतिको, व्यवस्थाको विरुद्धमा एउटा सस्थाको प्रमुखले बोल्न पाउँदैन नि । उहाँले ल्याउँदै ल्याउँदिन प्रहरी ऐन भन्ने टाइपको बोलेको रे भन्ने सुनेको मैले ।’

सरकारका प्रवक्ता समेत रहेका गुरुङले पदीय मर्यादा समेत बिर्सिएर आईजीपीविरुद्ध बोलेपछि धेरैले आश्चर्य मानेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय