
काठमाडौँ । ठमेलस्थित ‘एलओडी क्लब’ले सातौँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित मनाउने तयारी गरेको छ। क्लब सञ्चालनमा आएको सात वर्ष पूरा भएको अवसरमा मंगलबार विशेष कार्यक्रम आयोजना गरिने एलओडी क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए।
वार्षिकोत्सव कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने उनले बताए। क्लब स्थापना भएयता देशी तथा विदेशी कलाकारहरूले एलओडीको मञ्चमा प्रस्तुति दिइसकेका छन्। ‘हामीले क्लब स्थापना गरेर नेपाली सांगीतिक क्षेत्रका कलाकर्मीलाई प्राथमिकताका साथ स्थान दिएका छौँ,’ कुँवरले भने, ‘एलओडी कलाकारहरूका लागि केही गर्छु भन्नेहरूका लागि एउटा सशक्त प्लेटफर्म बनेको छ, जहाँ धेरै सांगीतिक समूहले अवसर पाएका छन्।’

एलओडी क्लब केवल नाइटक्लब मात्र नभई नेपाली संस्कृति, प्रतिभा र राष्ट्रिय गौरवको प्रतीकका रूपमा स्थापित हुँदै गएको कुँवरको भनाइ छ। ‘नेपाली संस्कृति र परम्परालाई समर्पित विशेष कार्यक्रममार्फत क्लबले नेपाली पहिचानलाई विश्वमञ्चमा प्रवर्द्धन गर्दै आएको छ, जसले राष्ट्रिय एकताको भावनालाई अझ बलियो बनाएको छ,’ उनले बताए।
रातको समयमा ठमेल घुम्न आउनेहरूका लागि एलओडी प्रमुख गन्तव्य बनेको दाबी गर्दै कुँवरले ठमेल आउने अधिकांश आगन्तुक कम्तीमा एकपटक एलओडी पुग्ने गरेको बताए। रात्रीकालीन व्यवसायमा अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै उनले कहिलेकाहीँ प्राविधिक कठिनाइका कारण समस्या भोग्नुपरेको अनुभव पनि सुनाए।



