
काठमाडौं। सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिन स्वीकृति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ संसदबाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने प्रयोजनका लागि सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।
सरकारका यी निर्णयलाई पछिल्लो समय देखिएको सामाजिक र राजनीतिक दबाबको सन्दर्भमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।



