
सुर्खेत — लोकसेवा आयोग सुर्खेतले सञ्चालन गरेको जनपद प्रहरी जवान पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको खुलासा भएको छ। अर्कै व्यक्तिको नाममा परीक्षा दिएको आरोपमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार परीक्षामा सहभागी केही व्यक्तिहरूको गतिविधि शंकास्पद देखिएपछि दिउँसो करिब २ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रारम्भिक जाँचका क्रममा अर्काको नाममा परीक्षा दिइएको पुष्टि भएपछि प्रहरीले तत्काल कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक श्यामकुमार यादवको कमाण्डमा ४० जनाको प्रहरी टोली परिचालन गरिएको थियो। टोलीले परीक्षा केन्द्रमा विस्तृत जाँच तथा सोधपुछ गरेको थियो।
प्रहरीका अनुसार जाजरकोटको कुशे गाउँपालिका–२ का २१ वर्षीय निरज शाहीले सोही ठाउँका १८ वर्षीय सूर्यकिरण शाहीको नाममा परीक्षा दिन आएको खुलेको छ। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पनि लोकसेवा आयोगका विभिन्न परीक्षामा यस्ता नक्कली परीक्षार्थी संलग्न घटनाहरू घट्दै आएको देखिन्छ। बारम्बार दोहोरिने यस्ता घटनाले परीक्षाको विश्वसनीयता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा नेटवर्कबारे पनि अनुसन्धान भइरहेको जनाएको छ।



