
इलाम, २०८२ माघ १२ गते । जिल्ला प्रहरी कार्यालय इलाममा नयाँ जिल्ला प्रहरी प्रमुखका रूपमा खटिई आउनु भएका प्रहरी उपरीक्षक (एसपी) कुलदीप चन्दले आज औपचारिक रूपमा पदभार ग्रहण गर्नु भएको छ।
पदभार ग्रहणका क्रममा उहाँले जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीबाट कार्यालयको सम्पूर्ण प्रशासनिक तथा कार्यगत जिम्मेवारी बुझि लिनु भएको हो।

प्रहरी संगठनभित्र एक काबिल, अनुशासित र व्यावसायिक प्रहरी अधिकृतका रूपमा चिनिनु भएका एसपी चन्दले यसअघि विभिन्न जिम्मेवार पदमा रहँदै प्रभावकारी नेतृत्व र कार्यक्षमता प्रस्तुत गर्दै आउनु भएको छ। जिल्ला प्रहरी कार्यालय इलामको नेतृत्व सम्हाल्दै उहाँले शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।
चुनावको शान्ति–सुरक्षा व्यवस्थापनमा उहाँको भूमिका प्रभावकारी र सुरक्षित हुनेमा विश्वास गर्न सकिन्छ। प्रहरी निरीक्षक तथा प्रहरी नायव उपरीक्षकका रूपमा देशका विभिन्न स्थानमा रहेर कार्य अनुभव बटुल्नु भएका प्रहरी उपरीक्षक कुलदीप चन्दका लागि अब इलाम जिल्लाको शान्ति–सुरक्षा कायम राख्दै स्वच्छ, सुरक्षित र मर्यादित निर्वाचन सम्पन्न गराउने थप चुनौती समेत जोडिएको छ।



