स्याङ्जा | निर्वाचनलाई लक्षित गर्दै स्याङ्जा प्रहरीले अवैध हतियारविरुद्ध कडा अपरेशन चलाएको छ। प्रहरी चौकी विरूवाबाट परिचालित विशेष सर्च अप्रेसन टोलीले विरूवा गाउँपालिका–३ सिउँडीमा लुकाइछिपाइ राखिएका भरुवा बन्दुक र गोलीगठ्ठा नियन्त्रणमा लिँदै तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय ७७ वर्षीय तिलबहादुर पुलामी, ६५ वर्षीय मिनबहादुर पुलामी र ६५ वर्षीय रणबहादुर थापा रहेका छन्। प्रहरीका अनुसार तिलबहादुर पुलामीको घरबाट २ नाले भरुवा बन्दुक, २२३ ग्राम बारुद, ३१ थान छर्रा तथा छर्रा बनाउन प्रयोग हुने सिसा र फलामको घोडा बरामद गरिएको छ। त्यस्तै, मिनबहादुर पुलामीको घरबाट एक नाल भरुवा बन्दुक, १७ थान छर्रा, ५० ग्राम बारुद र दुई थान केप फेला परेको छ।

यसैगरी, रणबहादुर थापाको घरबाट पनि एक नाले भरुवा बन्दुक, २३ थान छर्रा, ३७० ग्राम बारुद र पाँच थान केप बरामद गरिएको प्रहरीले जनाएको छ। घरभित्रै लुकाइछिपाइ राखिएका हतियार फेला परेपछि तीनै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रहरी प्रहरी प्रमुख दधिराम न्यौपानेका अनुसार पक्राउ परेका व्यक्तिमाथि प्रचलित कानुनअनुसार आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ। निर्वाचनजस्तो संवेदनशील समयमा यस्ता हतियारले गम्भीर जोखिम निम्त्याउन सक्ने भएकाले प्रहरीले सञ्चालन गरेको यो अपरेशनको सर्वत्र प्रशंसा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय