
काठमाण्डौं- रिपोर्टिङका क्रममा पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघका अनुसार हिजो धनगढीको शहीद गेटस्थित ६ लेन सडकमा तीन जना सवार मोटरसाइकललाई ट्राफिक प्रहरीले चेकजाँच गरिरहेका बेला एसटीएम टेलिभिजनका पत्रकारद्वय उषाकिरण ज्योति र लक्ष्मण ढुंगालले भिडियो खिचिरहेका थिए ।
सोही क्रममा ट्राफिक प्रहरी हवल्दार डेबिङ श्रेष्ठले किन भिडियो खिचेको भन्दै पत्रकार ढुंगालको मोबाइल फोन खोसी भिडियो मेटाउन दबाब दिएको महासंघले जनाएको छ ।

आज जारी विज्ञप्तिमार्फत महासंघले घटनाको कडा निन्दा तथा भर्त्सना गरेको छ । विज्ञप्तिमा भनिएको छ, “पत्रकारमाथि गरिएको यो व्यवहार अत्यन्त निन्दनीय र प्रेसविरोधी छ ।” साथै, यस्ता कार्यमा संलग्न व्यक्तिमाथि आवश्यक कारबाही गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग महासंघले माग गरेको छ ।



