
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवक र एक युवतीको शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकको जङ्गल क्षेत्रमा उनीहरू मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
आज बिहान मर्निङ वाकका लागि निस्किएका स्थानीयले जङ्गलभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता श्यामप्रकाश यादवका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। उनले भने, “हामी भर्खरै घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेका छौँ। हालसम्म मृतकहरूको पहिचान खुल्न सकेको छैन।”
प्रहरीका अनुसार युवक र युवतीको शव एकै स्थानमा नभई केही मिटरको दूरीमा छुट्टाछुट्टै अवस्थामा फेला परेका छन्। यही कारणले घटनालाई शंकास्पद रूपमा हेरिएको प्रहरीले जनाएको छ।
वीरेन्द्रनगरको प्रमुख पर्यटकीय तथा सार्वजनिक स्थल सहिद पार्क आसपास यस्तो घटना भएपछि स्थानीयस्तरमा चासो र त्रास बढेको छ। प्रहरीले घटनाको कारण र मृतकहरूको पहिचान खुलाउन थप अनुसन्धान जारी राखेको जनाएको छ।



