काठमाडौं, ११ पुस — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६० वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल तथा स्कुटर) खोजतलासपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रूपमा ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर धनीहरूलाई बुझाउनुभएको हो।

ट्राफिक प्रहरी कार्यालयमा प्राप्त उजुरीका आधारमा गरिएको खोजतलासका क्रममा ती सवारी साधनहरू केही वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा फेला परेका थिए। काडाँघारी, पुल्चोक, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नेपालटार, टोखा, नयाँ बसपार्क, बालकुमारी, भक्तपुरको भाटभटेनी, लोकन्थली, नाला, बनेपा, बसन्तपुर, किर्तिपुर, ताथली, बौद्ध, सिनामंगल, थानकोट, सोह्रखुट्टे, कपन, सुडाल र जरङ्खु लगायतका विभिन्न स्थानबाट ती सवारी साधन बरामद गरिएको प्रहरीले जनाएको छ।

आज हस्तान्तरण गरिएका ६० वटा सहित चालु आर्थिक वर्षको साउनयता ट्राफिक प्रहरीले जम्मा १८१ वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ। यसैगरी, चोरी भएका १३ वटा सवारी साधनसहित चोरीमा संलग्न २५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।

सवारी साधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए।

ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४१७ वटा र २०८१/०८२ मा हालसम्म ५०३ वटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी धनीलाई फिर्ता गरिसकिएको छ।

सवारी साधन चोरी तथा हराउने घटनाबाट बच्न सुरक्षित स्थानमा पार्किङ गर्न, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न र मानिसको आवतजावत नहुने एकान्त स्थानमा सवारी साधन नछाड्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय