
मोरङ । मोरङको बेलबारी क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउने अभियानले तीव्रता पाएको छ। ट्राफिक प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी नायब निरीक्षक (सई) प्रवीण खड्काको नेतृत्वमा सडक सुरक्षा, यात्रु अधिकार र अनुशासित यातायात प्रणाली स्थापनाका लागि निरन्तर पहल भइरहेको छ।
युवा उमेर, ऊर्जाशील कार्यशैली र नवीन सोचका साथ सई खड्का सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिक एजेन्डा बनाएर सक्रिय रूपमा खटिँदै आएका छन्। यात्रुहरूलाई अनावश्यक आर्थिक भार नपरोस् भन्ने उद्देश्यले सार्वजनिक सवारी साधनहरूमा यात्रु भाडादर (रेट) नटाँसिएका सवारीमाथि नियमित अनुगमन सुरु गरिएको छ। यस अभियानमार्फत यात्रु अधिकारको संरक्षण गर्दै सवारी सञ्चालकहरूलाई कानुनी दायराभित्र रहेर सेवा दिन सचेत गराइएको छ।

त्यस्तै, सर्वसाधारणको स्वास्थ्य र शान्त वातावरणलाई ध्यानमा राख्दै बेलबारीमा प्रेशर हर्न हटाउने विशेष अभियान सञ्चालन भइरहेको छ। नियम विपरीत जडान गरिएका प्रेशर हर्नहरू सई खड्काको प्रत्यक्ष नेतृत्वमा हटाइँदै आएका छन्। विशेष गरी विद्यालय तथा कलेजका बसहरूमा जडान गरिएका प्रेशर हर्नमध्ये हालसम्म दुई दर्जनभन्दा बढी हटाइसकिएको ट्राफिक प्रहरी कार्यालय बेलबारीले जनाएको छ। यसले ध्वनि प्रदूषण न्यूनीकरणसँगै सुरक्षित र शान्त यातायात वातावरण निर्माणमा सहयोग पुर्याएको छ।
यसैबीच, एसियन हाइवे सडक निर्माणका कारण सडक अवस्था बिग्रिएको क्षेत्रमा सम्भावित दुर्घटना रोक्न ट्राफिक प्रहरी थप सतर्क बनेको छ। बेलबारी ट्राफिक चेकपोस्टमा सवारी साधन रोकी चालक दललाई अगाडिको सडक अवस्था, सम्भावित जोखिम र सुरक्षित यात्राबारे जानकारी दिँदै सचेत गराउने कार्य पनि नियमित रूपमा भइरहेको छ।
स्थानीयवासीहरूका अनुसार सई प्रवीण खड्काको सक्रियता, स्पष्ट निर्देशन र फिल्डमै देखिने नेतृत्वका कारण बेलबारी क्षेत्रमा ट्राफिक अनुशासन र सडक सुरक्षामा उल्लेखनीय सुधार देखिन थालेको छ।



