
काठमाडौँ — जेन–जी आन्दोलनका बेला भदौ २३ र २४ गते भएको तोडफोड र आगजनीले ध्वस्त बनेको ललितपुरको लेले प्रहरी चौकी फेरि उभिएको छ। गोदावरी नगरपालिका र स्थानीय समुदायको संयुक्त पहलमा प्रहरी चौकीको पुनर्निर्माण सफलतापूर्वक सम्पन्न गरिएको हो।
पुनर्निर्माण सम्पन्न भएपछि शुक्रबार आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले चौकीको औपचारिक उद्घाटन गरे। नगरपालिकाअन्तर्गत वडा कार्यालयले ८ लाख ६२ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो भने बाँकी रकम स्थानीय बासिन्दा तथा विभिन्न संघ–संस्थाको सहयोगबाट जुटाइएको जनाइएको छ।

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख महर्जनले प्रहरी सधैँ असन्तुष्ट पक्षको निशानामा पर्ने गरेको यथार्थ औँल्याए। उनले भने, “पीडित र पीडक दुवै पक्षलाई एकैपटक सन्तुष्ट पार्न सकिँदैन। यही कारणले प्रहरी सधैँ दबाब र आक्रोशको केन्द्रमा पर्ने गरेको छ।” समाजमा उत्पन्न हुने असन्तोषको प्रत्यक्ष मार प्रहरी संगठनले खेप्दै आएको उनको भनाइ थियो।
यस्तै, गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष मिलन सिलवालले जेन–जी आन्दोलनको आडमा अराजकता मच्चाउने र आपराधिक गतिविधिमा संलग्न समूहहरूले प्रहरी चौकीमाथि आक्रमण गरेको आरोप लगाए। आन्दोलन समाप्त भइसकेपछि समेत राति करिब ७ बजे लेले प्रहरी चौकीमा आगजनी गरिएको भन्दै उनले घटनाप्रति गम्भीर आपत्ति जनाए।
कार्यक्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, प्रहरी नायब उपरीक्षक यमकुमार श्रेष्ठ, वडा नं. ५ का वडाध्यक्ष सिलवाललगायत स्थानीय जनप्रतिनिधि तथा प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।



