काठमाडौं । ठमेलस्थित एलओडी क्लबमा आज ‘एनपीएल नाइट’ आयोजना हुने भएको छ । ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ सम्पन्न भएको अवसरमा आयोजना हुन लागेको उक्त कार्यक्रममा विजेता टोलीका खेलाडीसहित लिगमा सहभागी सबै आठ वटै टोलीको सहभागिता रहनेछ ।

एलओडी क्लबका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रविन श्रेष्ठले एनपीएल नाइटमा विजेता टोलीसहित सबै टिमका खेलाडीहरूको सहभागिता रहने जानकारी दिए । उनका अनुसार एनपीएल सफलतापूर्वक सम्पन्न भएको खुसीयालीमा सेलिब्रेसन नाइट आयोजना गर्न लागिएको हो ।

‘हाम्रो मुलुकका लागि एनपीएल हुनु गौरवको विषय हो । विभिन्न देशका खेलाडीहरू एनपीएलमा सहभागी भएकाले नेपालको पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुगेको छ,’ श्रेष्ठले भने ।

एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आयोजना भएको दोस्रो सिजनभर क्लबले मनोरञ्जन साझेदारको भूमिका निर्वाह गरेको हो ।

यसअघि एलओडी क्लबका सीइओ रविन श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काबीच इन्टरटेनमेन्ट पार्टनरसम्बन्धी सम्झौता भएको थियो । आगामी सिजनमा पनि क्लब इन्टरटेनमेन्ट पार्टनर बन्न सक्ने सम्भावना रहेको श्रेष्ठले बताए ।

एनपीएल खेल अवधिभर एलओडी क्लबका डिजेहरूले संगीत प्रस्तुत गर्दै खेलाडी र दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । खेलमा सहभागी खेलाडी तथा रंगशालामा उपस्थित दर्शकलाई थप उत्साहित बनाउने जिम्मेवारी क्लबले लिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय