
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरण (CAAN) का महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्ने आदेश दिएको छ । त्यस्तै, पूर्वनिर्देशक मुरारी भण्डारीसँग १ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्ने निर्णय भएको छ।
विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठ रहेको संयुक्त इजलासमा भएको थुनछेक बहसपछि उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश जारी गरिएको हो।

यसअघि नलिनचोक हेलिपोर्ट निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा भने विशेष अदालतले महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। सोही मुद्दामा पूर्वनिर्देशक भण्डारी भने ५ लाख धरौटी बुझाएर रिहा भएका थिए।




