काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ। अधिकारीसहित ७ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर नलिञ्चोकमा निर्माण गरिएको हेलिपोर्टसम्बन्धी योजनामा अनियमितता भएको आरोपमा मुद्दा दायर गरेको थियो।

आज विशेष अदालतमा न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ प्रारम्भ भएको हो।

अख्तियारका अनुसार प्रदीप अधिकारीसँगै निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक (इन्जिनियर) समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा तथा निजी इन्जिनियर गुरुदत्त अधिकारीमाथि जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो दाबी गरिएको छ। साथै, कैद र जरिवानाको माग पनि गरिएको छ।

यसअघि शुक्रबार थुनछेक बहसका लागि पेशी तोकिए पनि न्यायाधीश नारायणप्रसाद पौडेलले हेर्न नमिलेकाले सुनुवाइ स्थगित भएको थियो।

आजको सुनुवाइपछि अभियुक्तहरूलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा अदालतले आदेश जारी गर्ने विशेष अदालतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय