काठमाडौँ । जेनजी आन्दोलनका घटनापछि कमजोर भएको प्रहरी संगठनको मनोबल बढाउन विभिन्न विकल्पबारे छलफल चलिरहेका बेला गृह मन्त्रालयले प्रहरी कर्मचारीको रासन स्केल वृद्धि गर्ने प्रक्रिया अघि बढाएको छ। प्रहरी प्रधान कार्यालयले पेस गरेको प्रस्तावलाई गृहमन्त्री ओमप्रकाश अर्यालले अनुमोदन गर्दै अर्थ मन्त्रालयसँग सहमति मागेका हुन्।

प्रहरीको प्रस्ताव अनुसार, वर्तमान १६ आइटम क्यालोरीलाई बढाएर १९ आइटम पुर्‍याउने र राशन स्केललाई अन्य सुरक्षा निकाय—विशेषतः सशस्त्र प्रहरी बल र नेपाली सेना—सरह बनाउनुपर्ने माग छ।

गृह मन्त्रालयले विश्व स्वास्थ्य संगठन (WHO) ले तोकेको न्यूनतम पोषण मापदण्ड अनुरुप राशन स्केल परिमार्जन गर्नुपर्ने निष्कर्ष आएको र सोही आधारमा अर्थ मन्त्रालयलाई सहमति प्रदान गर्न अनुरोध गरिएको मन्त्रालयका प्रवक्ता (सह–सचिव) आनन्द काफ्लेले बताए।

उनका अनुसार, “राशन स्केल बढाउने प्रस्ताव अर्थमा गइसकेको छ।”

हालको संरचना र प्रस्तावित परिमार्जन

काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीले दैनिक १६ आइटम बराबर रु २०१ पाउँछन्, जसमा दिनको चारपटक खाद्यान्न खर्च समाहित छ। प्रस्ताव पारित भएमा यो स्केल सशस्त्र प्रहरी (१९ आइटम) को स्तरमा पुग्नेछ, जबकि नेपाली सेनाका सकलदर्जाले हाल २४ आइटम पाउँदै आएका छन्।

आर्थिक दायित्व र दररेटको आधार

जिल्ला दररेट अनुसार राशन स्केल बढाउने विषयमा प्रहरीले तीनवटा विकल्पसहित प्रस्ताव अघि बढाएको छ।

२०७१ मा कायम गरिएको दररेटमा २०७८ मा थपिएको १५ प्रतिशत रकम प्रहरीलाई राशनबापत दिइँदै आएको छ। ढुवानी खर्च र स्थानीय लागतअनुसार फरक–फरक दररेट निर्धारण हुने व्यवस्थाअनुसार परिमार्जन गरिँदैछ।

गृह मन्त्रालयले पठाएको प्रस्ताव लागू भएमा प्रहरी कर्मचारीका लागि १९ आइटम राशन स्केल पुर्‍याउन करीब रु ३ अर्ब ६५ करोड अतिरिक्त आर्थिक दायित्व बढ्ने आकलन गरिएको उच्च अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय