
चितवन। भरतपुर–रामपुर सडकखण्डअन्तर्गत सृष्टीचोकमा पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालक काठमाडौँबाट पक्राउ परेका छन्।
गत असोज २१ गते बिहान करीब ५ः१० बजे बिहानै मर्निङ वाकमा हिँडिरहेका ६० वर्षीय कृष्ण प्रसाद कँडेललाई ठक्कर दिई फरार भएको घटनामा संलग्न गोरखा नगरपालिका–१३ का २७ वर्षीय सुनिल गुरुङलाई प्रहरीले मंगलबार काठमाडौँको बौद्ध क्षेत्रबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिसिटिभी फुटेज विश्लेषण र विभिन्न मोटरसाइकलहरूको सूक्ष्म परीक्षणपछि बा ३७ प ८५३० नम्बरको मोटरसाइकलले नै ठक्कर दिएको पुष्टि भएपछि गुरुङको खोजी तीव्र पारिएको थियो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा पक्राउ परेका गुरुङसँगै घटनामा प्रयोग भएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।
चितवन प्रहरीले गुरुङविरुद्ध सवारी अङ्गभङ्ग सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।



