
काठमाडौं — लोकसेवा आयोगले सार्वजनिक गरेको ६६औँ वार्षिक प्रतिवेदन (साउन २०८१ देखि असार २०८२) अनुसार, सुरक्षा निकायतर्फको प्रहरी जवान (जनपद) परीक्षामा चिट चोरेर अनियमितता गर्ने २८ जना उम्मेदवारमाथि कारबाही गरिएको छ।
प्रतिवेदनमा उल्लेख अनुसार, एक उम्मेदवारले परीक्षा हलमै मोबाइलबाट प्रश्नपत्रको फोटो खिची मेसेन्जरमार्फत आफ्नो दाजुलाई पठाएको पाइएको छ। त्यस्तै, अर्को घटनामा नक्कली उम्मेदवार बनाएर परीक्षा दिएको पनि फेला परेको हो।

आयोगका अनुसार, सुरक्षा निकायतर्फकै नेपाली सेनाको परीक्षामा ७ जना र प्रहरी सहायक निरीक्षक (एएसआई) को परीक्षामा १ जना उम्मेदवार कारबाहीमा परेका छन्।
त्यस्तै, संगठित संस्थातर्फका १० जना उम्मेदवार र निजामति सेवा तर्फका ५ जना उम्मेदवारमाथि पनि कारबाही गरिएको छ। कारबाहीमा परेका सबै उम्मेदवारको सो विज्ञापनअन्तर्गतको परीक्षा रद्द गरी आगामी तीन वर्षसम्म लोकसेवा आयोगका कुनै पनि परीक्षामा उम्मेदवार हुन नपाउने गरी रोक लगाइएको प्रतिवेदनमा उल्लेख छ।



