
न्यूयोर्क, नोभेम्बर १, २०२५। अमेरिका स्थित फ्लाई नेपा ट्राभल्स ले हालै सम्पन्न “अब गाउँछ अमेरिका” नामक सांगीतिक यात्रामा गायिका एलिना चौहानले करार उल्लङ्घन गरेको आरोप लगाउँदै एक सार्वजनिक विज्ञप्ति जारी गरेको छ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि सो कार्यक्रम श्रृंखलामा सहभागी कलाकारहरूसँग करार अनुसारका सेवा–सुविधा र कार्यक्रमहरू निर्धारित तालिका अनुसार अघि बढाइँदै आएका थिए। अधिकांश कार्यक्रम सफलतापूर्वक सम्पन्न भए पनि बाँकी रहेका केही कार्यक्रममा करार विपरीत चौहानले अन्य संस्थाबाट रकम लिएर प्रस्तुति दिएको पाइएपछि बाँकी कार्यक्रम रद्द गरिएको कम्पनीले जनाएको छ।

“करारका बुँदाहरू उल्लङ्घन भएपछि बाँकी कार्यक्रम रद्द गरिएको हो। यदि एलिना चौहानलाई करार रद्दप्रति आपत्ति छ वा अन्याय भएको महसुस भएमा उनले कानुनी बाटो अवलम्बन गर्न सक्नेछन्,”
— फ्लाई नेपा ट्राभल्सको सचिवालय
फ्लाई नेपाका अनुसार “अब गाउँछ अमेरिका” कार्यक्रम विभिन्न राज्यहरूमा सम्पन्न हुँदै आएको थियो, जसमा आधुनिक, लोक र सुगम संगीतका चर्चित नेपाली कलाकारहरूले सहभागिता जनाएका थिए। कम्पनीले चौहानबारे फैलिएका “अनावश्यक अफवाह” मा नपरी सबै पक्षले उचित कानुनी र संवादात्मक बाटोबाट समस्या समाधान गर्न आग्रह गरेको छ।
सचिवालयले आफ्नो विज्ञप्तिमा थप उल्लेख गरेको छ कि,
“फ्लाई नेपा ट्राभल्सले विगतका सबै सांस्कृतिक कार्यक्रमहरूमा कलाकारहरूसँग पारदर्शी रूपमा सहकार्य गर्दै आएको छ, र आगामी दिनमा पनि सांगीतिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ बनाउँदै अघि बढ्नेछ।”




