
काठमाडौं । भरतपुर सडक डिभिजनका अनुसार, मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने कार्य जारी रहेको छ।
शनिबार अपराह्न साढे ४ बजे तिर पहिरो खस्ने क्रम जारी रहँदा पनि सुरक्षा सतर्कता अपनाउँदै दुईवटा उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको डिभिजनले जनाएको छ।

डिभिजनका इञ्जिनियरहरूका अनुसार, माथिबाट अझै पनि ढुंगा खस्ने जोखिम कायम रहेकाले उच्च सतर्कता अपनाइएको छ। यसै कारण, सुरक्षालाई मध्यनजर गर्दै सवारी आवागमन दुवैतर्फी रूपमा अस्थायी रूपमा रोकिएको छ।
सुरक्षाको प्राथमिकता स्वरूप यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा प्रशासनबाट जारी सूचनाको पालना गर्न अनुरोध गरिएको छ।



