
मोरङ । मोरङको रानी नाकाबाट स्रोत नखुलेको नगदसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार दिउँसो चेकजाँचका क्रममा विराटनगर महानगरपालिका–१८ बस्ने ४१ वर्षीय वीरेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको हो। साह सवार को ३८ प ५८५१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लुकाइ राखिएको अवस्थामा करिब १४ लाख रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कोपिला चुडालले जानकारी दिइन्।

स्रोत खुलाउन नसकेपछि साहलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद रकम र पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय रानीमार्फत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले साहलाई हुण्डी कारोबारमा संलग्न भएको आशंका गरेको छ र यसबारे थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।



