
काठमाडौं । जेनजी आन्दोलनका क्रममा विशालबजार नजिकै रहेको भवनमा आगजनी भएपछि जनसेवा प्रहरी बृत्तलाई अस्थायी रूपमा नेवा सांस्कृतिक भवन (वडा नं. २३, धर्मपथ) मा सारिएको छ। काठमाडौं महानगरपालिकाले सोमबारको निर्णयमार्फत तत्काल बस्नका लागि यो भवन उपलब्ध गराएको हो।
जनसेवा बृत्तले मंगलबारदेखि नै सो भवनबाट सेवा सञ्चालन थालेको छ। आगजनीबाट अघिल्लो कार्यालयमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

तत्काल आवश्यक सामग्री जुटाउन वडा कार्यालयहरूले सहयोग गर्ने भएका छन्। साथै, प्रहरी बृत्तअन्तर्गतका वडाहरूले समेत आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। जहाँ प्रहरीलाई बस्ने व्यवस्था छैन, त्यहाँ तत्काल प्रहरी नबस्ने भएको छ।
प्रहरी अभावमा अपराध र असुरक्षा बढ्ने जोखिम देखिएपछि स्थानीय बासिन्दा आफैं प्रहरीका लागि आवश्यक सामग्री जुटाउन लागेको जानकारी प्राप्त भएको छ। यसअघि जलेका भवनको पुनर्निर्माणका लागि पनि स्थानीय सक्रिय बनेका छन्।
काठमाडौंमा हाल प्रहरी बृत्त मालिगाउँ बाहेक सबै प्रहरी बृत्त, प्रभाग र बिटहरूमा आन्दोलनकारीले आगजनी गरेका छन्। आन्दोलनकारीले प्रहरीका बन्दोबस्ती सामग्री र हातहतियार खोसेका छन् भने पोसाक अभावमा प्रहरीहरू सादा पोसाकमै ड्युटीमा खटिन थालेका छन्।



