
सुरक्षा सरोकार । जेनजी आन्दोलनका क्रममा भएका आक्रमण र आगजनीका कारण राजधानीलगायत विभिन्न स्थानका ट्राफिक प्रहरी कार्यालयमा रहेका सम्पूर्ण ड्रेस, टोपी तथा आवश्यक पोशाक जलेर नष्ट भए पनि ट्राफिक प्रहरीले आफ्नो कर्तव्य छोडेनन्।
पूर्ण पोशाक नभएको अवस्थामा पनि उनीहरू बिना टोपी, बिना ड्रेसमै सडकमा उभिएर निरन्तर ट्राफिक व्यवस्थापन गरिरहेको दृश्यले सर्वसाधारणलाई छोएको छ। घाम, पानी र आन्दोलनको संवेदनशील परिस्थितिबीच समेत उनीहरूले देखाएको समर्पणले आम नागरिकको प्रशंसा बटुलेको छ।

यातायात व्यवस्थापनमा परेको चाप, भिडभाड र अव्यवस्थाबीच पनि ‘कर्तव्य सर्वोपरि’ भन्ने भावनासहित आफ्नो दायित्व पूरा गर्ने प्रहरीलाई देखेर सामाजिक सञ्जालमा समेत तारिफ गरिएको छ। अभावको अवस्थामै पनि सडक अनुशासन कायम राख्दै कर्तव्यमा दृढतापूर्वक खटिनु प्रहरी संगठनको सेवा–समर्पणको स्पष्ट उदाहरण बनेको छ।
सिंहदरबार अगाडिमात्र होइन, राजधानीका हरेक चोक, गल्ली र मुख्य सडकहरूमा पनि ट्राफिक प्रहरी पहिलेझैँ सक्रिय रूपमा खटिएका छन्। आन्दोलन, आक्रमण र पोशाक अभावजस्ता चुनौतीबीच पनि उनीहरूको उपस्थिति सामान्य दिनझैँ निरन्तर देखिन्छ।
सडकमा हुने जाम, अव्यवस्था र दुर्घटना रोक्न ट्राफिक प्रहरीले अघिल्ला दिनझैँ हात उठाउँदै सवारी साधनलाई व्यवस्थापन गरिरहेको दृश्य सर्वत्र देखिन्छ। राजधानीका प्रमुख चोक—रत्नपार्क, कोटेश्वर, नयाँबानेश्वर, कलंकी, चाबहिलदेखि सिंहदरबार अगाडिसम्म उनीहरूको निरन्तर सक्रियताले जनजीवन सहज बनाउन ठूलो योगदान पुर्याएको छ।
सडकमा भेटिएका एक सवारी चालकले भने, “आन्दोलनका क्रममा प्रहरीको कार्यालय जोगाउन सकिएको भए राम्रो हुन्थ्यो। कार्यालय जल्दा दु:ख लाग्छ। तर, प्रहरीहरू अझै पनि ड्युटीमा उभिनु नै कर्तव्यनिष्ठाको प्रमाण हो।”

फोटोमा देखिएका ट्राफिक प्रहरी गौशालामा कार्यरत हुन्। संकटका बीच पनि निरन्तर सेवामा खटिनु उनको मात्र नभई सम्पूर्ण ट्राफिक प्रहरीको अनुकरणीय कर्तव्यनिष्ठाको प्रमाण बनेको छ।



