
सुनसरी। भदौ २४ गते धरानस्थित भाटभटेनी सुपरमार्केटमा भएको आगजनी र लुटपाटमा संलग्न चार जनाको जलेर मृत्यु भएको पुष्टि भएको छ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार मृतकहरू सबै आगजनी र चोरीका लागि भित्र पसेका थिए। तीव्र गतिमा आगो फैलिँदा उनीहरू भित्रै फसेर जलेका हुन्।

वडा प्रहरी कार्यालय धरानका प्रमुख रुद्रबहादुर खड्काले तीन जनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा फेला परेको बताए। यसअघि शुक्रबार बिहान दोस्रो तलामा एक जनाको जलेको शव भेटिएको थियो भने दिउँसो चौथो तलामा थप तीन जनाको शव भेटिएको हो। शवहरू खरानीजस्तै अवस्थामा फेला परेका कारण शरीरका केही अंश मात्र चिनिने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
मृतकहरूको पहिचान खुल्न बाँकी रहेको र घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। आगजनीका कारण करिब करोडौँ मूल्य बराबरको सामान नष्ट भएको र लाखौँ बराबरको चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ।