काठमाडौं, भदौ १६ । ३० लाख रुपैयाँको बजेटमध्ये दुई लाख ७२ हजार रुपैयाँबराबरको मात्र काम गरी बाँकी रकम हिनामिना गरेको अभियोगमा १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन तीन जिल्ला शिक्षा अधिकारीसहित विरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा परेकामध्ये तत्कालीन जिशिअहरू डा. गणेशप्रसाद भट्टराई, केशवप्रसाद दाहाल र ज्ञानमणि नेपाल रहेका छन् । नेपालविरुद्ध यसअघि पनि अख्तियारले अर्को मुद्दा दायर गरिसकेको छ ।

हलेसी तुवाचुङ नगरपालिका–४ स्थित लक्ष्मी माध्यमिक विद्यालय भवन निर्माणका लागि २०७१/७२ सालमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । उक्त रकममध्ये २४ लाख जिल्ला शिक्षा कार्यालयले र बाँकी ६ लाख विद्यालयले व्यहोर्ने गरी सम्झौता भएको थियो । तर, फिल्डमा मात्र २ लाख ७२ हजार ३२८ रुपैयाँबराबरको काम गरी कागजी प्रतिवेदनमार्फत ३० लाख बराबरको संरचना बनेको देखाइ रकम हिनामिना गरिएको अख्तियारले जनाएको छ ।

मुद्दामा जिल्ला शिक्षा कार्यालयका भुवनकुमार आचार्य, लेखापाल सुरेशकुमार श्रेष्ठ, सब–इन्जिनियर शिवराज राई, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षहरू पृथ्वी दाहाल र शेषकुमार पौडेल, तत्कालीन प्रधानाध्यापकहरू राजेन्द्रप्रसाद दाहाल, ऋषिराम पोखरेल र नयनकुमार राई, विद्यालयकी लेखापाल सीता कार्की तथा भवन निर्माण जिम्मेवारी पाएका अर्जुन तामाङलाई पनि प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय