
काठमाडौँ । डान्स बारमा मदिराले मातेर युवतीलाई जुरुक्कै उचालेको भिडियो भाइरल भएपछि उद्योगमन्त्री दामोदर भण्डारीका स्वकीय अधिकृत लोकबहादुर भण्डारीलाई पदमुक्त गरिएको छ।
उद्योग मन्त्रालयका अनुसार भण्डारीलाई साउन २६ गतेदेखि लागू हुने गरी पदमुक्त गरिएको हो। मन्त्रीको सचिवालयमा रहँदा उनको कार्यशैली र क्रियाकलापप्रति सार्वजनिक रूपमा प्रश्न उठेपछि यस्तो निर्णय गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्री भण्डारीको सचिवालयद्वारा जारी सूचनामा भनिएको छ, “माननीय मन्त्रीज्यूको सचिवालयमा रही कामकाज गर्दा गरिएको क्रियाकलापप्रति सार्वजनिक रूपमा प्रश्न उठेकोले तपाईलाई स्वकीय अधिकृत पदबाट आजकै मितिदेखि लागू हुने गरी पदमुक्त गरिएको व्यहोरा जानकारी गराइन्छ।”
उद्योग मन्त्रालयका उपसचिव सुमन धितालको हस्ताक्षरमा जारी गरिएको सो पत्र अवगतार्थ प्रधानमन्त्रीको निजी सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत पठाइएको छ।
भिडियोमा भण्डारीले नीलो पोशाक लगाएकी एक युवतीलाई जुरुक्कै उचालेको देखिन्छ। ती युवतीसँग उनको पहिले परिचय थियो वा नाइट क्लब पुगेपछि मात्र चिनजान भएको हो भन्ने कुरा भने स्पष्ट भएको छैन।



