सुनसरी — सुनसरी प्रहरीले भारतीय सीमावर्ती नाकाबाट मङ्गलबार साँझ नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन्।

उनीहरूले लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गर्ने क्रममा प्रहरीले जाँचका क्रममा नियन्त्रणमा लिएको थियो। पछाडि सवार राजेशकुमार रजकको साथबाट प्रहरीले नेपाली एक हजार दरका ३८ थान नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाले जानकारी दिए।

बरामद भएको नक्कली नोटसहित दुवै जनालाई हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी खतिवडाले बताए। प्रारम्भिक अनुसन्धानपछि उनीहरूमाथि आवश्यक कानुनी कारबाही अघि बढाउने तयारी भइरहेको जनाइएको छ।

प्रहरीका अनुसार उनीहरू नक्कली नोटको कारोबारी सञ्जालसँग संलग्न हुन सक्ने आशङ्कामा अनुसन्धान विस्तार गरिएको छ। मुख्य गिरोहसम्म पुग्नका लागि थप तथ्यहरू संकलन भइरहेको समेत प्रहरीले जनाएको छ।

सुनसरी जिल्लामा यसअघि पनि पटक–पटक नक्कली नोट बरामद हुने घटनाहरू भए तापनि प्रहरी हालसम्म मूल सञ्जाल र मुख्य नाइकेसम्म पुग्न सफल भएको छैन। यस घटनाले पुनः सीमावर्ती क्षेत्रमार्फत भइरहेका आपराधिक गतिविधिहरूलाई लिएर सुरक्षामा प्रश्न उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय