
काठमाडौं – काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउने उद्देश्यले उपत्यका ट्राफिक प्रहरी कार्यालयले पुनः कडाईका साथ अभियान सञ्चालन गरेको छ।
२०७४ साल वैशाख १ गतेदेखि उपत्यकाभित्र हर्न निषेधको नियम लागू गरिए पनि कार्यान्वयनमा निरन्तरता नआएकाले फेरि त्यसलाई कडाइका साथ लागू गर्ने तयारी ट्राफिक प्रहरीले थालेको उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।

थानकोट ट्राफिक प्रहरी प्रभागले समेत यस अभियानलाई प्रभावकारी बनाउन कडा निगरानी सुरु गरेको छ।
थानकोट ट्राफिक प्रमुख सई भिम बहादुर बोहराका अनुसार, अब सवारी चालकले हर्न प्रयोग गर्न पाउने निश्चित अवस्थाहरू मात्र छन्। सवारी गुडिरहँदा सडकको एक भागबाट अर्को भाग नदेखिने मोडहरूमा वा गम्भीर दुर्घटना हुने खतरा भएको अवस्थामा मात्रै छोटो हर्न बजाउन अनुमति दिइनेछ। त्यस्ता जोखिमपूर्ण स्थानहरूमा पनि लामो र ठूलो आवाज हुने हर्नको प्रयोग निषेध गरिएको छ।
अनावश्यक रूपमा हर्न बजाउने सवारी चालकलाई ५ सय रुपैयाँ जरिवाना तिराइने व्यवस्था गरिएको ट्राफिक प्रहरीको भनाइ छ।
हर्न प्रयोगको विकृति —
सडकमा ट्राफिक जाम, ट्राफिक लाइटमा रोकिएको अवस्था वा सामान्य अवस्थामासमेत चालकहरूले एकोहोरो हर्न बजाउने प्रवृत्ति निकै बढेको पाइएको छ। अरूलाई वाक्कदिक्क पार्ने गरी हर्न बजाउने, रमाइलो वा जिस्काउने शैलीमा हर्न प्रयोग गर्ने, सार्वजनिक सवारीहरूले यात्रुलाई बोलाउन हर्न बजाउने जस्ता बेथितिहरू व्यापक रूपमा देखिन्छन्। यसले गर्दा एकातिर ध्वनि प्रदूषण उच्च रूपमा बढिरहेको छ भने अर्कोतर्फ अनावश्यक हर्न प्रयोगकै कारण केही दुर्घटनाहरू समेत हुने गरेका छन्।
ट्राफिक प्रहरीले सर्वसाधारण तथा चालकहरूलाई ‘हर्नमुक्त उपत्यका’ अभियानमा सहयोग गर्न अनुरोध गर्दै नियम उल्लङ्घन गरे कडा कारबाही हुने चेतावनी दिएको छ।



