काठमाण्डौं— नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी कर्मचारीलाई उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी विगतका कमजोरीहरू सुधार गर्दै जिम्मेवारीपूर्वक कार्य गर्न निर्देशन दिएका छन्।

आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित निर्देशन कार्यक्रममा आईजीपी थापाले संयमता र व्यावसायिकता प्रदर्शन गर्दै नागरिक–केन्द्रित सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताए।

प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सतर्क रहनु आवश्यक रहेको उल्लेख गर्दै, उनले सम्पूर्ण प्रहरी कर्मचारीलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिए।

आईजीपी थापाले विपद्को समयमा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै जोखिमयुक्त क्षेत्रमा सचेतना फैलाउने, अन्य निकायसँग समन्वय गर्ने र उद्धार कार्यमा सक्रिय रूपमा खटिनुपर्ने बताए।

प्रविधिको प्रयोगबाट सिर्जित नयाँ–नयाँ चुनौतीपूर्ण अपराध, संगठित अपराध, र लागूऔषधको ओसारपसार तथा दुरुपयोग नियन्त्रणमा थप सजग हुन निर्देशन दिँदै, उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सीमान्तकृत वर्गमाथि हुने अपराधमा विशेष संवेदनशीलताका साथ कार्य गर्नुपर्ने बताए।

हिरासत व्यवस्थापन र फरार प्रतिवादीको पक्राउमा विशेष सक्रियता अपनाउनुपर्ने उनले स्पष्ट गरे। सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै प्रभावकारी र परिणाममुखी ढंगले प्रहरी परिचालन गर्नुपर्ने थापाको भनाइ थियो।

अन्त्यमा, आईजीपी थापाले सांगठनिक नीतिहरूको अक्षरशः पालना, प्रहरी कर्मचारीहरूको गुनासो व्यवस्थापन, र सामूहिक भावना तथा उच्च मनोबलका साथ सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय