सर्लाही — जसपा नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवलाई पक्राउ गर्न सर्लाही जिल्लामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार दिउँसो जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएपछि जिल्लाभरि सुरक्षा सतर्कता उच्च पारिएको हो।

जिल्लाका सम्पूर्ण प्रहरी युनिटहरूलाई तयारी अवस्थामा राखिएको र नेता यादव देखिएलगत्तै पक्राउ गर्न निर्देशन दिइएको प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए। उनका अनुसार यादवको मोबाइल ट्र्याकिङ भइरहेको छ र केन्द्रसँग लोकेसन पत्ता लगाउन समन्वय भइरहेको छ।

यादव र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काबीच बिहीबार राति भएको गालीगलौजको अडियो सार्वजनिक भएपछि स्थिति थप तनावग्रस्त बनेको हो। प्रहरीले बिहीबार राति यादवलाई पक्राउ गर्न खोज्दा प्रहरी टोलीमाथि ढुंगामुढा गरिएको थियो।

प्रहरीका अनुसार यादव समर्थकहरूले सरकारी गाडीमा तोडफोड गर्नुका साथै प्रहरीको काममा अवरोध सिर्जना गरेका छन्। सार्वजनिक बाटो अबरुद्ध पारिएको र सरकारी सम्पत्तिमा क्षति पुर्‍याइएको अभियोगमा उनीमाथि अनुसन्धान अघि बढाइएको छ।

प्रहरी प्रतिवेदनका आधारमा जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालयले यादवको निगरानी कडा बनाउँदै उनलाई चाँडै नियन्त्रणमा लिने तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय