सर्लाही । जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई टेलिफोनमा अश्लील शब्द प्रयोग गर्दै धम्की दिएका छन् । यादवले एसपीलाई “मधेश लुट्न आएको लुटेरा” भन्ने आरोप लगाउँदै खुलेआम अपशब्द बोलेपछि विवाद चर्किएको हो ।

प्रहरी स्रोतका अनुसार पछिल्लो समय सर्लाहीमा तस्करी नियन्त्रण अभियानमा प्रहरी सक्रिय बनेको छ । तर, सोही सक्रियता सँगै प्रहरीमाथि असली तस्करलाई जोगाएर निर्दोषलाई मुद्दा फसाउने आरोप पनि लाग्दै आएका छन् । यही विषयलाई लिएर अध्यक्ष यादव र एसपी खड्काबीच विवाद चुलिएको हो । यादवले खुलेआम प्रहरी प्रशासनमाथि आक्षेप लगाउँदै आएका छन् भने प्रहरी प्रमुखले पनि कडा प्रतिक्रिया दिएका छन् ।

सर्लाही सीमावर्ती क्षेत्र भएकाले यहाँ साना व्यापारीदेखि ठूलो तस्करी समूहसम्म सक्रिय छन् । लामो समयदेखि सशंकित रूपमा चल्दै आएको तस्करी जालोभित्र प्रहरी, राजनीतिक दलका स्थानीय नेताहरू र केही कर्मचारीहरूको संलग्नता रहेको भन्दै आलोचना हुँदै आएको छ ।

जसपा नेता अशोक यादवले प्रहरीमाथि खुला आक्रमण गरेपछि एसपी खड्का आक्रोशित बनेका छन् । तुलनात्मक रूपमा कार्यसम्पादन राम्रो मानिएका एसपीलाई धम्की दिएको घटनाले अब स्थिति जटिल बन्ने संकेत देखिएको छ ।

एक स्थानीय कर्मचारीका अनुसार, “हरेक असार महिनामा अध्यक्ष यादवले यस्तै किसिमको तनाव सिर्जना गर्ने गरेका छन् । पहाडी–मधेशी नाम लिएर डर देखाउने र सरकारी कार्यालयहरूलाई धम्क्याउने उहाँको शैली बनेको छ ।”

यादव र प्रहरी प्रशासनबीचको चर्किंदो वादविवादले सर्लाहीको सुरक्षाप्रणाली र शान्ति सुरक्षामा असर पार्ने जोखिम बढेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय