
काठमाडौँ — सैनिक विशेष अदालतले सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सेवाबाट बर्खास्त गर्ने फैसला गरेको छ।
सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, अदालतले सैनिक अनुशासन, आचारसंहिता र सम्पत्तिसम्बन्धी कसुरमा सैनिक ऐन, २०६३ को दफा १०१ अनुसार उनीहरूलाई भविष्यमा सरकार सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय सुनाएको हो। साथै, हिनामिना भएको रकम पनि उनीहरूबाट असुलउपर गरिनेछ।

सैनिक कल्याणकारी कोषको २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसाको हिनामिना पुष्टि भएपछि उनीहरूलाई सैनिक प्रहरीको हिरासतमा राखेर मुद्दा अगाडि बढाइएको थियो।
सैन्य अदालतले सेनाको जमदार पदबाट अवकाश प्राप्त आत्मराम थापा र सेनानीबाट अवकाश लिएका लक्ष्मण अधिकारीलाई पनि दोषी ठहर गरेको छ। थापा पुर्पक्षका लागि थुनामा छन् भने अधिकारी हाल अमेरिकामा छन्।
अनुसन्धानबाट सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखाबाट भुक्तानी दिनुपर्ने रकम वास्तविक लाभग्राहीलाई नभई काल्पनिक नाम खडा गरी निकासा गरिएको पुष्टि भएको हो।



