
काठमाडौँ । चर्चित पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार साइबर ब्युरोमा दर्ता भएको उजुरीको आधारमा मुद्दा दायर गरेको हो।
‘साइबर ब्युरो ५९’ नाममा परेको उजुरीको अनुसन्धानपछि पाठकले विद्युतीय माध्यमबाट गैरकानुनी र मानहानिकारी सामग्री प्रकाशन गरेको ठहर गर्दै विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारबाहीको मागसहित मुद्दा दायर गरिएको हो। उक्त दफामा एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुबै सजायको व्यवस्था छ।

उजुरी दिने निवेदकले पाठकद्वारा प्रकाशित सामग्रीले आफ्नो छवि र व्यक्तिगत प्रतिष्ठामा गम्भीर आघात पुर्याएको दाबी गरेका छन्। उजुरीअनुसार, पाठकले आफ्नो तस्बिर प्रयोग गर्दै “हिल्टनमा जयवीर देउवाको पैसा” शीर्षक राखी काठमाडौँस्थित पाँचतारे हिल्टन होटलमा शाहि अग्रवाल र दीपक भट्टको लगानी रहेको र सो लगानी क्यानडासम्म फैलिएको उल्लेखसहितका सामग्री सार्वजनिक गरेका थिए। निवेदकको आरोप छ कि पाठकले सो सामग्रीमार्फत कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई समेत जोडेर घृणा र द्वेष फैलाउँदै चरित्र हत्या प्रयास गरेका हुन्।
अभियोगपत्रमा सो सामग्री प्रकाशन गर्न प्रयोग गरिएका कम्प्युटर, फ्लपी, कम्प्याक्ट डिस्क, टेप ड्राइभ, सफ्टवेयरलगायत उपकरण जफत गर्न माग गरिएको छ। साथै, पीडितलाई उचित क्षतिपूर्ति भराउने माग पनि अभियोगपत्रमा समावेश गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।



