कैलाली — प्रहरी प्रशासनलाई जनमुखी र मानवकेन्द्रित बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कैलालीले नयाँ पहल सुरु गरेको छ। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाको अगुवाइमा हिरासत कक्षमा राखिएका व्यक्तिहरूलाई चेतनामूलक भिडियोहरू देखाउने कार्यक्रम सुरु गरिएको हो।

यस अभियानअन्तर्गत हिरासतमा परेका व्यक्ति—जो प्रायः कुनै न कुनै कारणले कानूनको उल्लंघन गरेका हुन्छन्—उनिहरूलाई सुधारको सन्देश दिनका लागि विभिन्न नैतिक शिक्षा, सामाजिक व्यवहार, कानुनी सचेतना तथा नशा, हिंसा र अपराधबाट टाढा रहने विषयमा आधारित भिडियोहरू देखाइनेछ।

एसपी राणाका अनुसार, “हिरासत कक्षलाई केवल नियन्त्रणको ठाउँ नभई सुधारको सुरुवात हुने थलो बनाउन खोजिएको हो। कारवाहीसँगै चेतना र आत्मसमीक्षा पनि जरुरी हुन्छ भन्ने सोचबाट यो अभियान सुरु गरिएको हो।”

सामाजिक उत्तरदायित्व, मानवअधिकार र सकारात्मक मनोविज्ञानको आधारमा अघि बढाइएको यो कार्यक्रमलाई स्थानीय नागरिक समाज, मानवअधिकारकर्मीहरू र अन्य सरोकारवाला निकायले स्वागत गरेका छन्।

यस पहलले प्रहरीप्रति जनविश्वास बढाउनुका साथै हिरासतमा परेकाहरूलाई आत्मपरीक्षण गरी सकारात्मक जीवनयात्रातर्फ अग्रसर गराउन सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय