
राजविराज । जबरजस्ती करणी (बलात्कार) मुद्दामा सफाइ पाएलगत्तै अनुसन्धान अधिकृत प्रहरी निरीक्षकसँगै पार्टी मनाएको विषय सार्वजनिक भएपछि प्रहरी प्रशासनले घटनाबारे छानबिन सुरु गरेको छ।
प्रहरी आचरण विपरीतको कार्य प्रारम्भिक रूपमा देखिएको भन्दै मधेश प्रदेश प्रहरी कार्यालयले औपचारिक छानबिन प्रक्रिया थालेको हो। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार, प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। उक्त समिति बुधबारदेखि सप्तरी पुगेर विस्तृत अनुसन्धान सुरु गर्ने र आवश्यकता अनुसार विभागीय कारबाहीको सिफारिस गर्ने बताइएको छ।

राजविराज नगरपालिका–६ निवासी आकाश आदर्श नामक युवकमाथि जबरजस्ती करणीको आरोपमा अनुसन्धान भइरहेको थियो। सोही अभियोगमा अदालतमा मुद्दा दर्ता भई, जिल्ला अदालत सप्तरीका न्यायाधीश रोमनाथ अधिकारीको इजलासले ४ जेठमा उनलाई सफाइ दिएको थियो।
तर, सफाइ पाएपछि दोस्रो दिनमै अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मनिष श्रेष्ठसँग पार्टी मनाएको दृश्य सार्वजनिक भएको थियो। डीएसपी बस्नेतको कोठामा ‘बर्थडे पार्टी’ को नाममा गरिएको जमघटको भिडियो बाहिरिएपछि प्रहरीको भूमिका र निष्पक्षतामाथि गम्भीर प्रश्न उठेका छन्।
डीआईजी चतुर्वेदीले भने, “प्रहरीले मुद्दाको कुनै पक्षसँग अतिरिक्त सामीप्यता देखाउनु अस्वाभाविक मात्र होइन, नीति तथा मर्यादाविपरीत पनि हो। उक्त भेटघाट अदालतमा मुद्दा विचाराधीन नै रहेका बेला भएको हो भने त्यो झनै अशोभनीय ठहरिन्छ। त्यसैले छानबिनपछि कारबाही हुनेछ।”
उक्त घटना करिब एक महिनाअघि भएको भए पनि हालै मात्र सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले समेत चासो दिएको छ। अनुसन्धान अधिकृत मनिष श्रेष्ठको यसबीचमा चितवनमा सरुवा भइसकेको छ।



