
काठमाडौं — जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडालाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ।
उनीमाथि आर्थिक अनियमितता तथा आचरणविपरीत कार्य गरेको गुनासो आएपछि प्रहरी मुख्यालयले उनलाई सप्तरी प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाउँदै तत्काल सरुवा गरेको हो।

मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार, एसपी खतिवडामाथि गम्भीर प्रश्न उठेपछि प्रारम्भिक अनुसन्धान प्रारम्भ गरिएको छ।
घटनाको छानबिनका लागि नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगञ्जका प्रमुख एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिले खतिवडाको कार्यकालमा भएका आर्थिक गतिविधिको अध्ययन गर्नेछ।
खतिवडाको स्थानमा सप्तरीको प्रहरी प्रमुखको जिम्मेवारी अब एसपी गौतम केसीले सम्हाल्ने भएका छन्। प्रहरी स्रोतका अनुसार, यो कदम संगठनभित्र पारदर्शिता र जवाफदेहिता कायम गर्न लिइएको हो।



