
काठमाडौं ।काठमाडौं चक्रपथको कलङ्की–कोटेश्वर खण्डअन्तर्गत नवनिर्मित ग्वार्को ओभरपासको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी बनेका छन्। चार वर्षभन्दा बढी समय लगाएर निर्माण सम्पन्न भएको उक्त ओभरपासको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ट्राफिक प्रहरीको योगदानप्रति सम्मान व्यक्त गर्दै उद्घाटनको विशेष क्षण ट्राफिक प्रहरीलाई समर्पित गरेका हुन्।
सडक जाम व्यवस्थापनमा अहोरात्र खटिने ट्राफिक प्रहरीको कठिन श्रमप्रति सम्मान व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उद्घाटन समारोहमा उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीलाई अगाडि बोलाए। प्रधानमन्त्रीको आग्रहपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको पछाडि रहेका एसएसपी अधिकारी अगाडि आएर प्रधानमन्त्रीकै हातमा रहेको कैँची प्रयोग गर्दै ओभरपासको रिबन काटे।

सुरक्षा निकायको औपचारिकता अनुसार अभिवादन गर्दै उद्घाटन गरेका एसएसपी अधिकारीलाई प्रधानमन्त्री ओलीसहित उपस्थित अतिथिहरूले ताली बजाएर स्वागत गरे। त्यसपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उक्त क्षणको साक्षी बनेको उल्लेख गर्दै ट्राफिक प्रहरीको योगदानको प्रशंसा गरेका छन्।
ग्वार्को ओभरपासको एक छेउमा बनाइएको शिलालेखमा उद्घाटन प्रधानमन्त्री ओलीबाट भएको उल्लेख गरिए पनि व्यावहारिक रूपमा उद्घाटन एसएसपी अधिकारीद्वारा गरिएको हो।
१७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा इञ्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा आशिष समानान्तर रेलिगेर जेभीले निर्माण गरेको यो ओभरपास नेपालकै पहिलो फ्लाइओभर हो। पाँच सय मिटर लामो अप्रोच सडकसहित ३५ मिटर स्पानको ४ लेन पुल रहेको यस ओभरपासको निर्माण २०७८ सालमा आरम्भ भएको थियो।
उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले ग्वार्कोमा अब सवारी जाम अन्त्य भएको बताउँदै सरकारको विकास योजनामा सबैको साथ आवश्यक रहेको धारणा राखे। उनले बहुआयामिक र चौतर्फी ढंगले विकास अघि बढेको भन्दै यस्ता पूर्वाधारले नागरिकको दैनन्दिन जीवनलाई सहज बनाउने विश्वास व्यक्त गरे।



