
धनगढी, असार ५ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला लागुऔषधको केन्द्र बन्दै गएको यथार्थलाई ध्यानमा राख्दै प्रहरीले विशेष अभियान सञ्चालन गर्ने भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले तयार पारेको कार्यविधि प्रदेश प्रहरी कार्यालयमार्फत स्वीकृत भई हाल कार्यान्वयनको तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणाका अनुसार, जिल्लाभर फैलिँदो लागुऔषध समस्यालाई नियन्त्रण गर्न व्यापक र चरणबद्ध अभियान सञ्चालन गरिनेछ।

“यहाँ कारागारमा रहेका कैदीमध्ये ७० प्रतिशतभन्दा बढी लागुऔषधसम्बन्धी मुद्दामा छन्,” एसपी राणाले बताए, “अब पालिकाहरूको सहकार्यमा व्यापकरूपमा सचेतनामूलक र नियन्त्रण अभियान सञ्चालन गर्ने योजना छ।”
कार्ययोजनाको प्रमुख बुँदाहरू:
क) लक्षित प्रशिक्षण कार्यक्रम: दुर्व्यसनमा परेका व्यक्ति, जोखिममा रहेका युवा, र अभिभावकहरूलाई प्रशिक्षण दिइनेछ। प्रयोगकर्तालाई ३ दिन र अभिभावकलाई १ दिने तालिम हुनेछ।
ख)मनोपरामर्श र पुनर्स्थापना: दुर्व्यसनमा फसेकाहरूलाई मनोपरामर्श दिइनेछ, पुनर्स्थापन केन्द्र पठाइनेछ।
ग) कथा मार्फत प्रेरणा: सुधार भएर पुनर्स्थापित भएका व्यक्तिहरूका प्रेरणादायी अनुभवहरू तालिममा साझा गरिनेछन्।
घ) क्लब र समितिको गठन: सचेतना फैलाउन युवा क्लब, स्थानीय समिति र समूह गठन गरी प्रयोगकर्ताहरूको सूक्ष्म निगरानी गरिनेछ।
ड्) विद्यालय र क्याम्पसमा कार्यक्रम: विद्यार्थीहरूलाई लक्षित गरेर लागुऔषधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।
एसपी राणाले १३ देखि २५ वर्षसम्मका युवा र किशोर–किशोरीहरू बढी प्रभावित देखिएकाले यही उमेर समूहमा केन्द्रीत भएर कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। “अभिभावकले छोराछोरीको गतिविधि, संगत र व्यवहारको सूक्ष्म अनुगमन गर्नुपर्छ,” उनले भने।
१० महिनामा ६७५ जना पक्राउ— जिल्ला प्रहरी कार्यालयका अनुसार, चालू आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्मको १० महिनामा लागुऔषधसम्बन्धी ४०२ मुद्दामा ६७५ जना पक्राउ परेका छन्।
गत आर्थिक वर्षमा ३१५ वटा मुद्दामा ४४७ जना पक्राउ परेका थिए। पक्राउ पर्नेहरूको धेरैजसो उमेर समूह १३ देखि २५ वर्ष बीचको रहेको तथ्यांकले देखाएको छ।
भारतसँगको खुला सिमाना चुनौती— कैलाली जिल्लाको झण्डै १०० किलोमिटर क्षेत्र भारतसँग सिमाना जोडिएको हुँदा लागुऔषधको तस्करीमा खुला सिमाना प्रमुख चुनौती बनेको प्रहरीको भनाइ छ।
“चरेसबाहेक अधिकांश लागुऔषध भारतीय बजारबाट लुकिछिपी भित्र्याइन्छ,” प्रहरीको भनाइ छ। कैलाली र कञ्चनपुर हुँदै सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा समेत लागुऔषध पुग्ने गरेको पाइन्छ।
प्रहरीले अब स्थानीय सरकार, समुदाय र अभिभावकहरूको सहकार्यमा पूर्व–नियोजन, सचेतना, पुनर्स्थापना र कानूनी कारबाहीलाई एकैसाथ अघि बढाउने रणनीति तय गरेको छ।



