सुरक्षा सरोकार — पछिल्लो समय नेपालका विभिन्न भागहरूमा प्रहरी संगठनको नाम दुरुपयोग गरेर नागरिकमाथि ठगी, त्रास र भ्रम सिर्जना गर्ने घटनाहरू दिनप्रतिदिन बढिरहेका छन्। यस्ता गतिविधिहरूले न केवल निर्दोष नागरिकलाई मानसिक र आर्थिक पीडा पुर्‍याएका छन्, बरु इमानदार प्रहरी अधिकारीहरूको मनोबल खस्काउने, संगठनको छविमा आँच ल्याउने र प्रहरी–नागरिक सम्बन्धमै दरार ल्याउने खतरासमेत बढाएको छ।

एक महिना भित्र देश भित्र करिव १ दर्जन यस्ता घटना सार्वजानिक भएको देखिन्छ । हिजो मात्र ठाकुरबाबा नगरपालिका–९ का १९ वर्षीय अर्जुन रोकाय आफूलाई प्रहरी सहायक निरीक्षक (असई) भन्दै स्थानीय पसल तथा होटलहरूमा गएर उधारो माग्दै ठगी गर्दै हिँडिरहेका थिए। शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनी प्रहरी संगठनसँग कुनै सम्बन्ध नभएको पुष्टि भयो।

तर यस्ता घटनाहरू एक्लो उदाहरण होइनन्। बारम्बार देशका विभिन्न भागहरूमा यस्तै नक्कली पहिचानको प्रयोग गरी मानिसहरूलाई ठग्ने, त्रास देखाउने र बदनाम गर्ने काम भइरहेका छन्।

समस्या विश्लेषणः- 

१. नक्कली प्रहरीको नाटक— नागरिकहरूमा प्रहरीप्रति एउटा प्राकृतिक भय र सम्मान दुवै हुन्छ। यसै मनोविज्ञानको दुरुपयोग गर्दै केही व्यक्तिहरू प्रहरीको पोशाक, परिचय वा व्यवहारको नक्कल गरेर सुविधा लिने, उधारो माग्ने, ठगी गर्ने कार्यमा संलग्न भइरहेका छन्।

२. सक्कली प्रहरीप्रतिको अविश्वास— कतिपय अवस्थामा साँच्चिकै प्रहरी अधिकृतहरूको कठोर व्यवहार, पारदर्शिताको कमी वा जवाफदेहिता अभावले जनतामा ‘सबै प्रहरी एउटै हुन्’ भन्ने नकारात्मक धारणा विकास गरिरहेको छ।

३. सूचना र जनचेतनाको अभाव—अधिकांश नागरिकले नक्कली र सक्कली प्रहरी कसरी छुट्याउने भन्ने स्पष्ट जानकारी पाएका छैनन्। यो नै ठगीको अवसर बन्न पुगेको छ।

समाधानका उपायहरूः- 

१. स्पष्ट परिचय प्रणाली लागू गरियोस्—

• हरेक प्रहरी अधिकारीसँग सरकारी प्रमाणित परिचयपत्र, ब्याच नम्बर र ID कार्ड अनिवार्य झुण्ड्याइएको हुनुपर्छ।

• QR कोड युक्त ID कार्डको विकास गरी मोबाइलबाट तत्काल पुष्टि गर्न सकिने प्रविधि अपनाउन सकिन्छ।

२. व्यापक जनचेतना अभियान चलाइनुपर्छ

• वडा, गाउँपालिका र नगरपालिकास्तरमा प्रहरीजनता संवाद कार्यक्रम सञ्चालन गरिनुपर्छ।

• विद्यालय, होटल व्यवसाय, सार्वजनिक यातायात आदि क्षेत्रमा साक्षरता सुरक्षा तालिम प्रदान गरिनुपर्छ।

३. प्रहरी संगठनभित्र सुधार र जवाफदेहिता

• संगठनले आत्ममूल्याङ्कन गर्दै पारदर्शिता र उत्तरदायित्वको अभ्यास विस्तार गर्नुपर्छ।

• लापरवाही देखाउने प्रहरीलाई कारबाही र असल कार्य गर्ने प्रहरीलाई सम्मान गर्नुपर्छ।

सक्कली प्रहरीको मनोबल कसरी बढाउने?

 सराहना र प्रेरणा — ‘महिनाको उत्कृष्ट प्रहरी’, ‘सर्वोत्कृष्ट अनुशासन प्रहरी’ जस्ता पुरस्कार कार्यक्रम सञ्चालन गरौं।स्थानीय, प्रदेशीय र राष्ट्रिय स्तरमा प्रशंसा पत्र, अभिनन्दन समारोह, र सफलता कथा सार्वजनिक गरौं।

सकारात्मक सार्वजनिक धारणा निर्माण—मेरोप्रहरीमेरोगर्व जस्ता अभियान चलाएर प्रहरी र नागरिकबीचको दूरी घटाऔं। सक्कली प्रहरीका प्रेरणादायी कथाहरू सामाजिक सञ्जाल, रेडियो र टेलिभिजनमार्फत प्रवाह गरौं।

मिडिया र प्रविधिको उपयोग— सामाजिक सञ्जालमा सक्कली प्रहरीका सेवा र संघर्षका कथा निरन्तर सार्वजनिक गरौं।गलत सूचना र नक्कली पहिचानबारे सही सूचना समयमै प्रवाह गरौं।

नक्कली प्रहरीबाट बच्ने ५ महत्वपूर्ण उपाय

❶ परिचयपत्र माग्नुहोस् — प्रहरीको नाम, पद, ब्याच नम्बर र ID कार्ड हेर्न माग गर्नुहोस्। सक्कली प्रहरीले यसमा कुनै आपत्ति जनाउँदैन।

❷ थानामा सम्पर्क गर्नुहोस् — शंका लागेमा तत्काल नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोस्। टोल फ्रि नम्बर: १००

❸ QR स्क्यान प्रणाली — परिचयपत्रमा QR कोड भए स्क्यान गरी सक्कली प्रहरी हो कि होइन पुष्टि गर्न सकिन्छ।

❹ पैसा वा उधारो मागे सावधान — सक्कली प्रहरीले कहिल्यै पैसा वा उधारो माग्दैन। यस्तो भएमा तुरुन्त उजुरी दिनुहोस्।

❺ साइबर डरधम्कीबाट बच्नुहोस् — फेसबुक, फोन वा म्यासेन्जरमार्फत डर देखाउने गतिविधि देखिएमा साइबर ब्यूरो मा उजुरी दिनुहोस्।

नक्कली प्रहरीले संगठनकै गम्भीरता र जनविश्वासमाथि प्रश्न उठाउने काम गर्छन्। तसर्थ, सुधार, सजगता र सराहना—यी तीनै पक्षको समन्वयले मात्र यो समस्याको दीर्घकालीन समाधान सम्भव छ।

नेपाल प्रहरीका पुर्व डिएसपी विपिन गौतम भन्नु हुन्छ —

“यो प्रक्रिया बढेको छ किन र कसरी? कहिले DSP कहिले प्रहरी भनेर ? नक्कली प्रहरी को समाचार बारबार आउनु अनि मुख छोपेको फोटो हुनु समाजले नचिन्नु थोरै धरौटीमा छुटनु छुटेपछि फेरि नक्कली बन्ने परम्परा कायम हुन गर्न नदिन समाजमा सचेतनाको आवश्यकता छ।
अब सूचना जारी गर्नु पर्यो। सक्कली र नक्कली कसैले पनि ठग्न नपाउने गरि।
जनतामा सूसुचित गराउने कार्यक्रम गरेर। सामुदायिक प्रहरीको कार्यमा यो पनि सचेतनामुलक कार्यक्रम थप गरेर घरदैलो कार्यक्रम राख्न जरुरी छ। समाज सुसुचित हुनु नै अपराधको नियन्त्रण हुनु हो। अझपनि प्रहरी को डर समाजमा रहेछ भन्ने पुष्टि हो यो समाचार।”
#प्रहरीमेरोसाथी
#सामुदायिकप्रहरीसदासाथमा

अबको आवश्यकता हो:

   “सक्कली प्रहरीलाई सम्मान, नक्कलीलाई सजाय, अनि जनतालाई जानकारी।”

यही सोच र अभ्यासले मात्रै हामी प्रहरी र नागरिकबीचको सम्बन्धमा विश्वास, सुरक्षा र सहकार्यको सेतु निर्माण गर्न सक्छौं। सुरक्षित समाजका लागि अब हामी सबै मिलेर अघि बढ्नुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय