काठमाडौँ — सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट साइबर अपराधसम्बन्धी उजुरीका आधारमा पक्राउ पुर्जी जारी भएको छ। प्रहरीको साइबर ब्युरोको अनुरोधमा अदालतले पक्राउको अनुमति दिएको ब्युरोका एक अधिकृतले रातोपाटीलाई पुष्टि गरेका छन्।

पाठकले आफ्नो युट्युब च्यानल टफ टक मार्फत ‘टफ एक्स्प्लेनर’ शीर्षकमा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवाले काठमाडौं नक्सालस्थित हिल्टन होटल खरिद गरेको भनी प्रसारण गरेका थिए। सोही सामग्रीका आधारमा पाठकमाथि साइबर अपराधको उजुरी परेको बताइएको छ।

पाठकको दाबीअनुसार जयवीर देउवाले होटल शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र व्यापारी दीपक भट्टसँग मिलेर उक्त होटल खरिद गरेका हुन्। साथै, उनले जयवीरले आफ्ना बुवा प्रधानमन्त्री भएका बेला डायपर र सेनिटरी प्याड आयात गर्दा कर छुट दिने गरी कर दर हेरफेर गरेकोसमेत समाचारमा उल्लेख गरेका थिए।

त्यसैगरी, काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेको १७ तले उक्त होटलको नक्सापाससम्बन्धी विवादकै बीच देउवा परिवार उक्त खरिदमा संलग्न भएको पाठकले समाचारमा आरोप लगाएका थिए।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार, “कपोलकल्पित सामग्री प्रसारण गरिएको भन्दै उजुरी परेको थियो। सोही उजुरीका आधारमा पक्राउ पुर्जी जारी गरिएको हो।”

प्रकरणले फेरि एकपटक पत्रकारिता, सार्वजनिक सरोकार, र अभिव्यक्ति स्वतन्त्रताबीचको संवेदनशील सन्तुलनका विषयमा बहस सुरु गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय