काठमाडौं — प्रहरी प्रधान कार्यालय, नक्सालले बढ्दो साइबर अपराध र जोखिमलाई मध्यनजर गर्दै मंगलबार ‘साइबर अपराधको वर्तमान अवस्था, चुनौती र समाधान’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू, सूचना प्रविधिसम्बन्धी विज्ञहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अन्तर्राष्ट्रिय सूचना प्रविधि कम्पनी जेनिस सोलुसनका प्राविधिक प्रमुख निरञ्जन कुँवरले साइबर सुरक्षाबारे कार्यपत्र प्रस्तुत गर्दै वर्तमान जोखिम र समाधान उपायहरूबारे प्रस्ट पारे।

प्रहरीको साइबर ब्यूरो प्रमुख डीआईजी नवीन्द्र अर्याल, सूचना प्रविधि विभागका प्रमुख डीआईजी अरुण भण्डारी, एसएसपी ज्ञानेन्द्रराज राई लगायत प्रहरी प्रधान कार्यालयका विभिन्न विभाग र महाशाखाका उच्च प्रहरी अधिकारीहरूले कार्यक्रममा सक्रिय सहभागिता जनाए।

जेनिस सोलुसनका वरिष्ठ निर्देशक तथा आईटी इन्जिनियरहरू अमित जोशी, शरद बन्जरा, निर्वाण पाल र सम्पन्न श्रेष्ठसहितको टोलीले साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास, रणनीति, तथा प्रविधिको प्रयोगबारे छलफल गरे। कम्पनीका अनुसार साइबर सुरक्षा चुनौती बढ्दै गइरहेको सन्दर्भमा यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले समाधान खोज्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

नेपालसहित ११ देशमा आईटी सेवा विस्तार गरिसकेको जेनिस सोलुसनसँगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। सो कम्पनीका प्रमुख अन्जनी फुँयाल नेपाली मूलका बेलायती नागरिक हुन्।

कार्यक्रमलाई सुरक्षा र प्रविधिको समन्वयमार्फत साइबर अपराध नियन्त्रणमा सहयोग पुग्ने उद्देश्यका साथ आयोजित गरिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय