काठमाडौं । ‘जन्मदिनको दिन आत्महत्या गर्छु’ भन्दै सोलुखुम्बुस्थित करिब ५ हजार मिटर उचाइमा रहेको गोक्यो ताल पुगेका एक चिनियाँ पर्यटकलाई नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ।

पर्यटक प्रहरी भृकुटीमण्डपबाट गएको टोलीले ३६ वर्षीय चिनियाँ नागरिक छेई हुवाङलाई मंगलबार बिहान उद्धार गरेको हो। गम्भीर मानसिक अवस्थाका साथ गोक्यो तालमा पुगेका हुवाङले सामाजिक सञ्जालमार्फत ११ जुन अर्थात् आफ्नै जन्मदिनमा आत्महत्या गर्ने घोषणा गरेका थिए।

चीनमा रहेका उनका परिवारले उक्त पोस्ट देखेपछि काठमाडौंस्थित चिनियाँ दूतावासलाई जानकारी गराएका थिए। दूतावासले नेपाल प्रहरीको पर्यटक प्रहरी शाखालाई तुरुन्तै उद्धारको अनुरोध गरेको थियो। पेम्बा शेर्पा नामक स्थानीय व्यक्तिले पनि प्रहरीलाई घटनाबारे सतर्क गराएका थिए।

प्रहरी स्रोतका अनुसार चिनियाँ दूतावासले नै उच्च उचाइमा उड्नसक्ने हेलिकप्टरको व्यवस्था गरिदिएको थियो। उद्धार टोली घटनास्थल पुग्दा हुवाङ ‘टंक इन होटल’मा रहेका थिए, जहाँ होटल सञ्चालकले उनलाई सम्झाएर रोकिरहेका थिए। सुरुवातमा उनले प्रहरी टोलीसँग काठमाडौं जान अस्वीकार गरे पनि करिब आधा घण्टाको मनोवैज्ञानिक सम्झाइपछिमात्र उनी तयार भएका थिए।

हेलिकप्टरमार्फत उनलाई सुरक्षित रूपमा काठमाडौं ल्याइएको छ। अहिले उनलाई पर्यटक प्रहरीको भृकुटीमण्डपस्थित कार्यालयमा राखिएको छ र छिट्टै चिनियाँ दूतावासको जिम्मा लगाइने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय