
काठमाडौं – भिजिट भिसा दुरुपयोग प्रकरणले उच्च प्रशासनिक तहसम्म चपेटामा पार्दै गर्दा गृह सचिव गोकर्णमणि दुवाडी पनि छानबिनमा तानिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अध्यागमन विभागमा दरबन्दीभन्दा बढी कर्मचारी परिचालन गरेको विषयमा गृह सचिव दुवाडीलाई सात दिने स्पष्टीकरण सोधेको छ।
प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले पठाएको पत्रमा दरबन्दीभन्दा बढी कर्मचारी परिचालन गर्नुको कारणसहित त्यसको विस्तृत विवरण पेस गर्न भनिएको छ। गृह सचिव दुवाडीका विश्वासपात्र मानिने सहसचिव तीर्थ भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानमा तानेपछि अध्यागमन कार्यालयमा अनियमित रूपमा कर्मचारी खटाइएको तथ्य उजागर भएको थियो।

अनुसन्धानको क्रममा गृह मन्त्रालयले एकै दिन दुईपटक गरेर ९ जना नायब सुब्बा र ५ जना कम्प्युटर अपरेटरको सरुवा गरेको पाइएको छ। अख्तियारले जेठ १३ गते पत्र लेख्दै तत्काल छानबिन र कारबाही गर्न निर्देशन दिएपछि प्रधानमन्त्री कार्यालय सक्रिय बनेको हो।
प्रधानमन्त्री कार्यालयले हालै पठाएको पत्रमा दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेका निकायहरूको विवरण र ती कर्मचारीको नामसहितको जानकारी सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ। तर, गृह सचिव दुवाडी हाल विदेश भ्रमणमा रहेका छन्।
यो घटनाले गृह मन्त्रालयभित्रको व्यवस्थापन र भिसा प्रक्रियामा देखिएको अनियमितता गम्भीर प्रश्नको घेरामा परेको छ। उच्च तहसम्मको संलग्नता देखिएपछि अनुसन्धानले कुन मोड लिन्छ भन्ने विषयमा सार्वजनिक चासो बढ्दै गएको छ।



