
काठमाडौं – गत वर्षको चर्चित ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न भनिएका थप १९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंले ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ। यसअघि नै पूरक अभियोगपत्र दायर भइसकेको यो प्रकरणमा अझै अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
अदालतको जेठ ११ गतेको आदेशअनुसार पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूमध्ये ६ जना चिनियाँ नागरिक छन्। तीमध्ये लौरोङ गोङबु, वाङ दाओजिङ, पेङ यङजिन, जोङ जियानहुआ, जोङ जिङचुआन र पिङ लिङफेन रहेका छन्। सुन बरामद हुनु अघिसम्म यी व्यक्तिहरू काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका थिए।

त्यस्तै, पक्राउ पुर्जी जारी भएका नेपाली नागरिकमा काठमाडौं पेप्सीकोलाका राम गुरुङ, झापाका लेखनाथ कार्की, दोलखाका कुमार भुजेल, विकेन्द्र भुजेल, जीवनकुमार गुरुङ, काभ्रेका पासाङ लामा, काठमाडौं चुनदेवीका जीवन चलाउने, र दोलखाका अन्य व्यक्तिहरू रहेका छन्।
यसैगरी, भारतका नागरिक कमलकान्त कुल्थिया पनि पक्राउ पुर्जीको सूचीमा परेका छन्। उनी काठमाडौंको विशालबजारमा सुन पसल सञ्चालन गर्दै आएका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले उनीहरूलाई फरार प्रतिवादीको रूपमा अनुसन्धान सूचीमा राखेको हो।
प्रहरीका अनुसार, उनीहरूमाथि अवैध सुन तस्करी, चोरी पैठारी, बैंकिङ कसुर लगायत आधा दर्जन मुद्दामा अनुसन्धान भइरहेको छ। २०८० साउन २ गते हङकङबाट आयात गरिएको अवैध ब्रेक शुभित्र (ब्रेक प्याड) मार्फत भन्सार पास भएको सुन नियन्त्रणमा लिएपछि उक्त प्रकरण सार्वजनिक भएको थियो। त्यसपछि गत भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो।
प्रहरीले बाँकी फरार व्यक्तिहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ। अदालतले ३५ दिनभित्र उपस्थित नहुँदा कानूनी प्रक्रिया अनुसार गैरहाजिरी फैसला हुने चेतावनी दिएको छ।



