कैलाली ।कैलालीको टीकापुरमा ट्राफिक चेकिङको क्रममा एक महिलामाथि हातपात गरिएको आरोपपछि जिल्ला प्रहरी कार्यालय कैलालीले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रहरी नायब उपरीक्षक राजकुमार सिंहको नेतृत्वमा गठन गरिएको उक्त समितिले घटनाको निष्पक्ष अनुसन्धान गर्ने बताइएको छ।

शुक्रबार साँझ टीकापुर–७ मा स्कुटीमा सवार राजकुमारी कुँवर शाहलाई सत्ती प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) यज्ञराज पन्तले ‘तँ’ भनेर सम्बोधन गरेका थिए। त्यसपछिको सामान्य भनाभनका क्रममा हवल्दार सुरेन्द्र बोहरा र शाहबीच विवाद भएको थियो। विवाद चर्किएपछि सई पन्तले पोसाकमै नरही महिलामाथि हातपात गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ।

पीडित शाहले इलाका प्रहरी कार्यालय टीकापुरमा लिखित निवेदन दर्ता गराएकी छिन्। भिडियो सार्वजनिक भएसँगै घटनाले सामाजिक स्तरमै गम्भीर चासोको विषय बनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनामा संलग्न दुवै प्रहरीलाई कार्यालयमा झिकाएर प्रारम्भिक अनुसन्धान अघि बढाइसकेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डम्बर बि.कका अनुसार , गठित समितिले छिटोभन्दा छिटो प्रतिवेदन पेश गर्नेछ र छानबिनपछि दोषी पाइए आवश्यक कानुनी कारबाही हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय