
बर्दिवास, महोत्तरी । “ सुरक्षित सडक, सुरक्षित समाज” भन्ने मूल नाराका साथ बर्दिवासमा सडक सुरक्षा सप्ताह २०८२ अन्तर्गत जनचेतनामूलक ट्राफिक कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ। कार्यक्रमको उद्देश्य सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको जनचेतना अभिवृद्धि तथा नागरिक–प्रहरी सहकार्यलाई थप सुदृढ गर्नु रहेको आयोजकहरूले बताएका छन्।
कार्यक्रमको आयोजना जिल्ला ट्राफिक प्रहरी कार्यालय, बर्दिवासले गरेको हो। उद्घाटन समारोह बर्दिवास नगरपालिका–१ स्थित गौतम होटल अगाडिको खुला चौरबाट प्रभातफेरीमार्फत गरिएको थियो। बिहान ७ बजे सुरु भएको प्रभातफेरीमा स्कूली विद्यार्थी, प्रहरी, शिक्षक, यातायात व्यवसायी, स्थानीय सामाजिक अभियन्ता र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।


बैण्डबाजासहित सजीव माहोलमा आयोजना गरिएको प्रभातफेरी बर्दिवासका प्रमुख चोकहरू परिक्रमा गर्दै पुनः प्रारम्भस्थलमा समापन गरिएको थियो। सहभागीहरूले “सवारी चलाउँदा मोबाइल प्रयोग नगरौं”, “फुटपाथ नभए दाहिने किनारबाट हिँडौं”, “ट्राफिक नियम पालना गरौं, जीवनको सुरक्षा गरौं”, “नियम मिच्नु अपराध हो, लाज मानौं” लगायतका जनचेतनामूलक सन्देश समेटिएका प्लेकार्डहरू बोकेका थिए, जसले सर्वसाधारणको ध्यान खिच्दै सन्देश प्रवाहमा सहयोग पुर्याएको थियो।
कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक लक्ष्मी राज जोशीले गर्नुभएको थियो। उहाँले भन्नुभयो, “यो सप्ताह अभियान सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउने प्रयास हो। नियम पालना गरेर मात्रै दुर्घटना न्यूनीकरण सम्भव छ, र यसका लागि सबैको साथ आवश्यक छ।”

कार्यक्रमका प्रमुख अतिथि बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रहलाद कुमार क्षेत्रीले सडक सुरक्षालाई सामूहिक जिम्मेवारीका रूपमा लिनुपर्ने आवश्यकता औंल्याउनुभयो। “सडक सुरक्षाको जिम्मेवारी केवल ट्राफिक प्रहरीको मात्र होइन, विद्यालय, घरपरिवार, यातायात व्यवसायी र प्रत्येक नागरिकको पनि हो। जनचेतना बिना दुर्घटना नियन्त्रण असम्भव छ। यस्ता कार्यक्रम निरन्तर र व्यावसायिक ढंगले सञ्चालन गर्नुपर्छ,” उहाँले जोड दिनुभयो।
सडक सुरक्षा सप्ताहको पहिलो दिनमै स्थानीय समुदायको उत्साहजनक सहभागिता देखिएको छ। विशेषगरी युवावर्ग र विद्यार्थीहरूमा ट्राफिक नियम र सुरक्षित यात्रा प्रवर्द्धनमा सकारात्मक असर परेको स्थानीय अभिभावक र शिक्षकहरूको भनाइ छ।
यस प्रकारका कार्यक्रमहरूले दीर्घकालीन रुपमा सडक अनुशासन र नागरिक उत्तरदायित्वको चेतना विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिन्छ। आयोजकहरूका अनुसार सडक सुरक्षा सप्ताहको क्रममा विभिन्न स्थानमा शैक्षिक सत्र, सडक नाटक, पोस्टर प्रदर्शनी, ट्राफिक नियम सम्बन्धी प्रतियोगिता र अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिने छन्।



