
काठमाडौँ । आफूलाई गृह मन्त्रालयको कर्मचारी बताउँदै प्रहरीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले पाल्पा जिल्लाको नैनादेवी गाउँपालिका–७ का ५७ वर्षीय भक्तबहादुर रायमाझीलाई पक्राउ गरेको हो ।
उनी हाल काठमाडौँ महानगरपालिका–१ नक्सालमा बसोबास गर्दै आएका थिए । रायमाझीले विभिन्न प्रहरी कार्यालयहरूमा टेलिफोन गरी आफूलाई गृह मन्त्रालयको कर्मचारी बताउँदै धम्की दिने गरेको आरोप लागेको छ ।

प्रहरीले घटनाबारे गृह मन्त्रालयसँग सोधपुछ गर्दा मन्त्रालयले उनी आफ्नो कर्मचारी नभएको पुष्टि गरेको थियो । त्यसपछि मन्त्रालयको आग्रहमा प्रहरीले रायमाझीलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको हो ।
पक्राउ परेका रायमाझीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ ।



