
काठमाण्डौं—सार्वजनिक सवारी साधन बन्दको अवसर छोपी यात्रुलाई गन्तव्यमा पुर्याउने नाममा अनियमित गतिविधि गर्ने राइड सेयरिङ चालकहरूमाथि उपत्यका ट्राफिक प्रहरीले कठोर कारबाही गरेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारिका अनुसार मिति २०८२ साल जेठ २० गते सार्वजनिक यातायात व्यवसायीहरूको बन्दको मौका छोप्दै राइड सेयरिङ सेवा दिने चालकहरू सडकमा यात्रु कुरेर ट्राफिक अवरोध गर्नुका साथै यात्रुहरूसँग Offline Bargaining, मनपरी भाडा असुली, यात्रुलाई हैरानी दिने कार्यमा संलग्न पाइएपछि ३३१ जनालाई नियन्त्रणमा लिइएको हो।

त्यस्तै, ट्राफिक नियम उल्लङ्घन गर्ने थप २७२ जना राइड सेयरिङ चालकहरूलाई पनि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही गरिएको एसएसपी अधिकारिले जानकारी दिनुभयो।
राइड सेयरिङ सेवामार्फत यातायात सेवा प्रदान गर्दा कानुनी प्रक्रिया, ट्राफिक नियम तथा सेवा नैतिकता पालना गर्नु पर्नेमा यस्ता अव्यवस्थित र अवैध गतिविधिले यात्रुहरूलाई हैरानीको सिकार बनाएको भन्दै प्रहरी प्रशासनले कडाइका साथ अनुगमन र नियन्त्रण गर्ने चेतावनी पनि दिएको छ।
उपत्यका ट्राफिक प्रहरीले राइड सेयरिङ कम्पनी तथा चालकहरूलाई सेवा अनुशासनमा रहेर कानुनी दायरामा बस्न आग्रह गर्दै अवैध गतिविधि दोहोर्याए कडा कारबाही गरिने जनाएको छ।



