
कैलाली — सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा नवप्रवर्तनात्मक सोचका साथ “प्रहरी पुस्तकालय” स्थापना गरी औपचारिक रूपमा उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) डम्बर बहादुर वि.क. ज्यूले वरिष्ठ प्रहरी अधिकृत, जुनियर अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको विशेष उपस्थितिमा उक्त पुस्तकालयको उद्घाटन गर्नुभयो।
यो पुस्तकालय प्रहरी संगठन प्रमुख महानिरीक्षक (आईजीपी) र प्रदेश प्रहरी प्रमुखबीच कार्यसम्पादन सम्झौता २०८१ अन्तर्गत बुँदा नं. ४० मा उल्लेखित नवप्रवर्तनात्मक कार्यको महत्वपूर्ण उदाहरण हो। पुस्तकालयको परिकल्पना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश मल्लले गर्नुभएको हो, जसले प्रहरी सेवामा अध्ययन र अनुसन्धानको संस्कार जर्गेना गर्ने उद्देश्य राखिएको छ।

पुस्तकालयको महत्व र उद्देश्य—
प्रहरी सेवा केवल अनुशासन र कार्यक्षमतामै सिमित हुँदैन, यसमा ज्ञान, विवेक र सामाजिक समझ अत्यावश्यक हुन्छ। यही सोचअनुसार, “प्रहरी पुस्तकालय” स्थापना गरिएको हो। प्रहरी सेवामा कार्यरत अधिकारी तथा जवानहरूले कानुन, अपराध अनुसन्धान, मनोविज्ञान, नेतृत्व विकास, समसामयिक नीति, प्रविधि र सामाजिक विज्ञानसम्बन्धी ज्ञानलाई अद्यावधिक गर्न सकून् भन्ने उद्देश्यले यो पुस्तकालय स्थापना गरिएको हो।
प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ल भन्नुहुन्छ—
“समाज बुझ्न र बुझाउन प्रहरीले पढ्नुको विकल्प छैन। यही यथार्थलाई आत्मसात गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा ‘प्रहरी पुस्तकालय’ स्थापना गरिएको हो।”
हाल पुस्तकालयमा विभिन्न विधाका १,२६० थान पुस्तकहरू उपलब्ध छन्। पुस्तकको संख्या थप बढाउँदै लैजाने योजना छ। भविष्यमा पुस्तकालयको क्षमता वृद्धिसँगै समुदायस्तरसम्म पनि पहुँच पुर्याउने योजना बनाइएको छ, जसले प्रहरी र नागरिकबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास गरिएको छ।
प्रेरणादायी पहल : अन्य प्रदेश प्रहरी कार्यालयका लागि नमूना
यो पुस्तकालय न केवल प्रहरी संगठनको आन्तरिक दक्षता अभिवृद्धिको प्रतीक हो, बरु सुदूरपश्चिम प्रदेशमा प्रहरी सेवा प्रभावकारी, जिम्मेवार र ज्ञानमा आधारित बनाउने दीर्घकालीन रणनीतिक सोचको परिणाम हो। यसले प्रहरी संगठनभित्र अध्ययन, अनुसन्धान र विचार विमर्शलाई संस्थागत गर्दै नेतृत्व विकासमा समेत सघाउ पुर्याउने अपेक्षा गरिएको छ।
यस नवप्रवर्तनात्मक कार्यले अन्य प्रदेश प्रहरी कार्यालयहरूलाई समेत यस्ता सिर्जनात्मक पहलका लागि उत्प्रेरणा दिनेछ। डीआईजी डम्बर बहादुर वि.क.को दूरदर्शी नेतृत्व र एसएसपी प्रकाश मल्लको अवधारणात्मक सोच मार्फत अघि बढाइएको यो अभियानले नेपाली प्रहरी संगठनलाई केवल सुरक्षामा मात्र नभई बौद्धिक नेतृत्वमा पनि सशक्त बनाउने दिशामा ऐतिहासिक कदम चालेको छ।
अन्त्यमा, पुस्तकालय स्थापनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साथ, सहयोग र समर्थन गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले हार्दिक धन्यवाद प्रकट गरेको छ।



