काठमाडौँ— सार्वजनिक यातायात व्यवसायीहरूको आन्दोलनका कारण लामो तथा छोटो दूरीका सवारी साधन ठप्प हुँदा यात्रुहरू दैनिक आवतजावतमा ठूलो सास्ती भोगिरहेका छन्। यस्तो संकटको घडीमा नेपाल प्रहरीले आफ्नै बस सञ्चालन गरी यात्रुलाई निःशुल्क सेवा प्रदान गरिरहेको छ।

सडकमा प्रहरीका बस चढेर गन्तव्य पुग्न सफल भएका यात्रुहरू खुसी र आभारी देखिएका छन्। कतिपय यात्रुहरूले सेवा दिएका प्रहरीप्रति सलाम ठोक्दै कृतज्ञता व्यक्त गरेका छन्।

उता, प्रहरीतर्फबाट पनि यात्रुहरूलाई नमस्कार गर्दै स्वागत तथा बिदाइ गरिँदै आएको छ, जसले सेवा मात्र नभई आत्मीयता पनि महसुस गराएको यात्रुहरूको भनाइ छ।

सार्वजनिक सवारी बन्द गरिँदै हिजोदेखि सुरु भएको यातायात व्यवसायीहरूको आन्दोलनका कारण सर्वसाधारण अलपत्र परेका थिए। यस्तो विषम परिस्थितिमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले आफ्ना सवारी साधनमार्फत यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने कार्य सुरु गरेको हो।

प्रहरीको यो मानवीय कार्यको सामान्य नागरिकदेखि सामाजिक सञ्जाल प्रयोगकर्तासम्मले खुलेर प्रशंसा गरेका छन्। कतिपयले यो कार्यलाई “जनताको प्रहरी” भन्ने संकल्पको मूर्त रूपका रूपमा समेत व्याख्या गरेका छन्।

प्रहरीको यस प्रकारको सेवाभावले संकटमा परेका नागरिकको जीवन सहज बनाउनुका साथै सुरक्षा निकायप्रतिको जनविश्वास थप बलियो भएको देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय