
काठमाडौँ — कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर रायलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको हिनामिना गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो। बैंकको ठूलो रकम अनियमिततामा संलग्न भएको आरोप लागेपछि राय फरार अवस्थामा थिए। अहिले उनलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

२०६० सालमा स्थापना भएको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय २०७६ देखि २०७९ सम्म प्रमुख कार्यकारी अधिकृत (CEO) का रूपमा कार्यरत थिए। यस अवधिमा उनले पटक–पटक सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए। सल्यान स्थायी घर भएका राय पछिल्लो समय बाँकेमा बसोबास गर्दै आएका थिए।
सीआईबीका अनुसार यस प्रकरणमा बैंकका अन्य शीर्ष अधिकारीहरू पनि अनुसन्धानको दायरामा आएका छन्। अनुसन्धानमा तानिएका व्यक्तिहरूमा—पूर्व सिईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी र हालका सिईओ तथा वित्त प्रमुख निरजविक्रम शाह रहेका छन्।
बैंकभित्र अनियमितता उजागर भएपछि सञ्चालक समिति अध्यक्ष ओमप्रकाश मिश्रको संयोजकत्वमा पुस ५ गते छानबिन समिति गठन गरिएको थियो। समितिले तयार पारेको प्रतिवेदनमा रायसहितका अधिकारीहरूबाट १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको निष्कर्ष प्रस्तुत गरिएको छ।
समितिले दोषीहरूलाई कानुनी दायरामा ल्याई अनुसन्धान अघि बढाउन सम्बन्धित निकायमा सिफारिस गरेसँगै, सीआईबीले हाल विस्तृत अनुसन्धान प्रक्रिया अघि बढाएको छ।



